डिसहोममा स्टारका च्यानल फेरि बन्द, ग्राहक शुल्क के हुन्छ ?

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं,१९ माघ। भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा प्रदान गर्दै आएको आफ्नो ३२ वटा च्यानलहरुको प्रसारण बन्द गरेको छ । लामो समयसम्म बक्यौता नतिरेपछि यसअघि पुसमा पनि स्टारले इण्डिया दबाबका लागि आफ्ना सेवा बन्द गराएको थियो । पछि बक्यौता तिर्ने सहमति गरेर च्यानल सुचारू गरिएको थियो । हाल समयमै नवीकरण नगरेका कारण देखाउँदै स्टार इण्डियाले आफ्ना च्यानल काटेको हो ।

डिसहोम मिडियाका अनुसार स्टार इण्डियाले प्याकेजको मूल्य आफुखुसी बढाएकाले वार्षिक रुपमा गर्नुपर्ने सम्झौता नवीकरण नगरिएको र यसका कारण स्टारका च्यानलहरुको प्रसारण बन्द भएको हो ।

नेपालमा स्टार प्याकेज अन्तरगत ३२ वटा च्यानलहरु प्रसारण हुन्छन्, जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानल नेपाली दर्शकमाझ लोकप्रिय छन् । खरिद गरिसकेको टेलिभिजन प्याकेजमा स्टारका च्यानलहरु नभएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।

विदेशी च्यानलहरुले ग्राहक संख्याका आधारमा मात्रै शुल्क लिन पाउने नियम बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरिएको डिशहोमको भनाइ छ । यसरी ३२ वटा च्यानल नआउने भएपछि ग्राहकहरुमा भने अन्योल छाएको छ ।

च्यानल सङ्ख्या तथा गुणस्तरका हिसाबले फरक फरक शुल्कका विभिन्न प्याकेज बनाएर बिक्री गरिरहेको सेवा अब झण्डै ३० प्रतिशत च्यानल आउन बन्द गरेपछि कम्पनीले ग्राहकसँग उठाउने शुल्क घटाउँछ वा घटाउँदैन भन्ने सबैको चासो रहेको छ ।