एशियन हाइड्रोले गर्‍यो आईपीओ निष्कासन

-



     सफल आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ माघ । एशियन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ ।अहिले भने कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले ८ करोड ४० लाख रपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको थियो ।

यसैगरी ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि पनि १६ हजार ८ सय कित्ता सेयर सुरक्षित गरेको थियो । त्यसपछि बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सेयर भने हाल सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओका लागि छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गते अन्तिम म्याद तोकिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था मप्िलाइएको छ ।