बीमालेख धितो राखेर लिने कर्जा ३६ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ फागुन। चालु आर्थिक वर्षको शुरुवाती ६ महिनामा धितोकर्जा प्रवाह ३६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा वापत ७८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो । उक्त अवधिमा यी कम्पनीहरुले बीमालेख धितोमा जम्मा ५७ अर्ब १२ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका थिए ।

यसप्रकारको कर्जा प्रवाह बढ्नुमा बीमालेख बाहेक अन्य कुनै कुरा धितो राख्नु नपर्ने भएका कारण बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झन्झटिलो नहुनु रहेको बुझिएको छ । यसै हिसाबले बीमालेख धितो राखेर कर्जा लिने बीमितको सङ्ख्या बढ्दै गएको छ ।

सहज प्रक्रिया बाहेक पनि गत वर्षको तुलनामा याे पटक कर्जा बढ्नुमा चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यताले बीमा कम्पनीहरुबीच भएको गाभ्ने गाभिने प्रक्रिया अर्थात् मर्जरलाई पनि लिइएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मात्र कम्पनीको बीमालेख धितोमा राखि ३२ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले १४ अर्ब ७२ करोड मात्र कर्जा प्रवाह गर्न सकेका थिए ।