
काठमाडौं, ४ फागुन । आज बिहानैदेखि समस्या देखिएको नेपाल टेलिकमको पोस्टपेड मोबाइलहरु अझै ‘वन वे बार’ अर्थात् टेलिफोन सेवा निषेध गरिएको समस्या झेल्न बाध्य भएका छन् ।
पोस्टपेड सेवाका ग्राहकको मोबाइलमा बिहान सबेरैदेखि वन वे बारको मेसेज आएको थियो । उक्त अवस्थामा फोन गर्न खोज्दा ‘तपाईँको टेलिफोन सेवा निषेधित गरिएको छ’ भन्ने सन्देश आउँथ्यो जुन अहिले पनि यथावत् रहेको छ । नेपाल टेलिकमले यसलाई ‘बिल रन’ का कारण भएको र सामान्य समस्या भएको जनाउँदै बिल रनको काम सकिनेबित्तिकै सेवा सुरु हुने बताएको छ ।
नेपाल टेलिकमको पोस्टपेड बिलिङ्गमा समस्या आएसँगै ग्राहकहरुले समाजिक संजालमार्फत समस्याको बारेमा चर्को गुनासो गरेका छन् । विभिन्न सामाजिक सञ्जालमा ग्राहकहरुले आफ्नो रकम काटिएको र रिचार्ज गर्दा पनि नदेखिएको भन्दै सरकारी दूरसञ्चार कम्पनीको सेवाको गुणस्तरमा प्रश्न उठाएका छन् ।
टेलिकमले भने पोस्टपेड बिलिङ्गमा आएको यो समस्या आज दिनभरीमा समाधान गरिने बताएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार आज देखिएको पोस्टपेड बिलिङ्गको समस्या समाधान गर्न प्राविधिकहरुले काम गरिरहेका छन् ।
के हो ‘बिल रन’?
पोष्टपेड प्रणालीमा मासिक रुपमा ग्राहकको बिल मिलान गरिन्छ । यसरी टेलिकमले ग्राहकहरुबाट रेन्टल शुल्क बापत् प्रत्येक महिना न्यूनतम ३८३ रुपैयाँ काट्ने गरेको छ । यसरी काटिएको न्यूनतम रकम र ग्राहकको मोबाइलमा बाँकी रहेको ब्यालेन्सको हिसाब मिलान गरिसकेपछि त्यो ३८३ रुपैयाँ पुनः ब्यालेन्समा नै फर्काइन्छ । टेलिकमले यो काम प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा गर्ने गर्छ । यही प्रक्रियालाई ‘बिल रन’ भनिने प्रवक्ता अधिकारीको भनाइ छ ।
अन्य महिनामा राति नै बिल रनको काम सकिइसक्ने भएकाले ग्राहकलाई खासै थाहा हुँदैनथ्यो । तर यसपाला भने बिहान र दिउँसो मोबाइलको अत्यधिक प्रयोग हुने बेलासम्म बिल रनको काम नसकिएकाले ग्राहकहरुले समस्या भोग्नुपरेको हो । टेलिकमका अनुसार बिलिङमा कुनै खराबी भएको नभई यो बिल रनको काम केही समय लागेको मात्रै भएको दावी गरेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




