साढे २ अर्बको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     फागुन ८ गते २०७९ मा प्रकाशित



काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारबाट ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ को बिक्री खुला गर्ने भएको छ । उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको रहेको र वार्षिक ब्याजदर ११.५० प्रतिशत रहेको बुझिएको छ । ब्याज ६-६ महिनामा भुक्तानी हुने र उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्कासन रकमको १० हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा जति पनि खरिद आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ ।

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । अर्थतन्त्रमा छरिएर रहेको स-साना बचत रकम एकीकृत गरी परिचालन गर्न सर्वसाधारणलाई उचित प्रतिफलसहितको लगानी अवसर पनि हुने भएकाले राष्ट्र बैंकले बणडहरु जारी गर्दै आएको छ ।