
संयुक्त राष्ट्रसङ्घ, १७ फागुन । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ ।
सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ ।
खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताए। उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ ।
अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए ।