१७ हाइड्रोलाई निर्माण अनुमति, ४८ आयोजना पर्खाईमा

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । विद्युत् विकास विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म समग्ररमा ५१९ मेगावाट क्षमताका १७ जलविद्युत् आयोजनालाई निर्माण अनुमति दिएको छ ।

विभागका अनुसार आयोजना निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका आयोजनाहरुलाई निर्माणको अनुमति दिइएको हो । यसैगरी यही अवधिमा समग्रमा २ हजार ३६३ मेगावाट क्षमताका ४८ आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । उनीहरुको हकमा विभागबाट कुनै नतिजा आइसकेको छैन ।

यसरी तत्काल निर्माण अनुमति पाउने १७ कम्पनीमा ३.३ मेगावाटदेखि ७७.५ मेगावाटसम्म विद्युत् उत्पादन क्षमता भएका परियोजना रहेका छन् । सूचीमा रहेको मध्ये सबैभन्दा ठूलो घुन्सा खोला जलविद्युत् आयोजना ७७.५ मेगावाट क्षमताको रहेको छ । यसैगरी सबैभन्दा सानो धार्ने खोलामा रहने स्यार्पु हाइड्रोपावर रहेको छ जसको क्षमता ३.३ मेगावाट बराबर रहेको छ ।

यस्तै ७०.३ मेगावाटको सिम्बुआखोला हाइड्रोपावरले गत साउन २३ मा निर्माण अनुमति पाएको विभागले जनाएको छ । यो आयोजना ताप्लेजुङकै सिम्भुवा खोलामा सिम्भु रेमिट् हाइड्रोपावरले गरिरहेको छ ।

६५ मेगावाट विद्युत् उत्पादन क्षमताको दूधखोला हाइड्रोपावरले निर्माण अनुमति पाएको छ । यस्तै ४४५२ मेगावाटको सानीभेरी हाइड्रो, २४.८ को लुजाखोला हाइड्रो, १५.६३ मेगावाटको मध्य त्रिशुली गंगा नदी, ४० मेगावाटको भोटेकोशी १ तथा ३० मेगावाटको पालुन खोला १ हाइड्रो पनि अनुमति पाउनेमा रहेका छन् ।

अनुमति पाएकाको सूचीमा ४३ मेगावाटको अपर मादी हाइड्रो, २१-२१ मेगावाटका जल्दिगाड, आयु मालुन खोला तथा पालुन खोला साना जलविद्युत आयोजना पनि रहेका छन् । यस्तै १५ मेगावाटको अपर काबेली २, १३ मेगावाटको मध्य मैलुङ, ९.३ को सिवाखोला, ४९ को अपर पिखुवाखोला जलविद्युत आयोजनाले निर्माण अनुमाति पाएका छन् ।