
पर्वत, २४ फागुन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा ३ वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो ।
फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका ४ वटा टावर निर्माण हुन सकेका छैनन् ।
लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोषसहितको टोलीले स्थलगत निरीक्षण गरी काम अघि बढाउन पहल गरेको हो । टोलीले स्थानीयसँग छलफल गरेको थियो ।
कालीगण्डकी र यसका सहायक खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन टोलीले आग्रह गरेको छ । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरुपमा वर्षायाममा प्रवाह गर्न नसकिएकाले यसबाट मुलुकलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गरेका छन् ।
प्रसारण लाइनको टावर सार्न सम्भव भए-नभएको विषयमा प्राविधिक टोलीले ४-५ दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको छ । “प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो । तर स्थलगत निरीक्षणका क्रममा विद्यालय नपर्ने देखिएको छ”, घिसिङले भने, “सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरुपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ ।”
विद्यालयलाई जोगाएर प्राविधिकरुपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्नेगरी टावर निर्माण गरिने घिसिङको भनाइ छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।
आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९.६ किलोमिटर खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । खुर्कोटमा २२०-१३२ केभी र दानामा २२०-१३२-३३ केभी सबस्टेसन निर्माण गरिएको छ ।
करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २ सय ३५ टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




