कर्जाको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

-



     सफल आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ फागुन । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको आज बिहीबार बसेको बैठकमा बैंकहरुले कर्जाको ब्याजदर घटाउने तथा ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका हुन् ।

हाल बैंकहरुले बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएकोमा अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार बेस रेट नघटे पनि साना कर्जामा ऋणीहरुलाई राहत होस भन्ने उद्देश्यले प्रिमियम दर घटाउने निर्णय गरिएको र चैतदेखि नै केही कर्जाको ब्याजदर घट्ने भएको छ ।

अहिलेसम्म धेरै बैंकहरुको आधार दर १० प्रतिशतको हाराहारी रहेकोले त्यसमा ५ प्रतिशतमात्र प्रिमियम थपिँदा बैंकहरुको ब्याजदर अधिकतम १५ प्रतिशतसम्म हुने देखिएको छ । बेस रेट वैशाखबाट अझ घट्ने भएकाले कर्जाको ब्याजदर अझै घट्ने निश्चित छ ।

आज बसेको बैंकर्स संघको बंठकले बचत खाताको ब्याजदरमा पनि ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको छ । यस हिसाबलेे हेर्दा अब बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म कायम हुने देखिन्छ । मुद्दती निक्षेपको ब्याजदर भने तत्काल नघटाउने निर्णय भएको छ ।