भैरहवा विमानस्थलबाट फेरि शुरु भयो अन्तर्राष्ट्रिय उडान

-



     सफल आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित



भैरहवा, २५ फागुन । केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । यात्रु अभावका कारण देखाउँदै जजीराले केही महिनादेखि उक्त विमानस्थलमा उडान रोकेको थियो ।

गत जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । तर मौसम खराबीको कारण देखाउदै पुस ६ गतेदेखि उडान रोकेको थियो । अब भने जजिराले पुरानै तालिकाअनुसार साताको तीन उडान गर्ने जनाएको छ ।

कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । जजिराले अब हप्तामा ३ दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले बताए । भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकिरहेको छ ।