
काठमाडौं, ७ चैत । अब स्टार्टअपले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण पाउने भएका छन् । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९’ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएसँगै यो सुविधा उपलब्ध हुने भएको हो ।
उक्त कार्यविधि अनुसार सरकारले तोकेको मापदण्डमा परेका स्टार्टअपहरु अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउन योग्य हुनेछन् । यो कार्यविधि कार्यान्वयनका लागि सरकारले १४ प्रकारका क्षेत्रमा गरिने उद्यमलाई ‘स्टार्टअप’ शीर्षकमा सूचीबद्ध गरेको छ ।
यसरी बनाइएको स्टार्टअपको सूचीमा कृषि तथा पशुपंछी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसंग सम्बन्धित, विज्ञान प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित क्षेत्रहरु परेका छन् । यसबाहेक मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित सेवाहरु पनि सूचीबद्ध छन् ।
यस शीर्षकमा अटेका अन्य क्षेत्रमा खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज र सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरणसँग सम्बन्धित व्यवसाय रहेका छन् ।
यस अन्तर्गतको सहुलियत कर्जा प्राप्त गर्न स्टार्टअप उद्यम सञ्चालन भएको ७ वर्ष ननाघेका तर सरकारले तोकेको ७ वटा मापदण्डमध्ये कम्तीमा ५ वटा मापदण्ड पूरा गर्नुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ । यी मापदण्डमा ५० लाख रुपैयाँ भन्दा बढी चुक्ता पुँजी नभएको, उद्यमको कुल आय वार्षिक ५० लाख भन्दा बढी नभएको, स्थिर पुँजी ९घरजग्गाबाहेक० २ करोड भन्दा बढी नभएको, उद्यममा पूर्णकालीन कामदार १० जना भन्दा धेरै नभएको लगायतका रहेका छन् ।
स्टार्टअप शीर्षकअन्तर्गत रहेका व्यवसायले यस्ता मापदण्ड पूरा गरेको खण्डमा ७ वर्ष अवधिका लागि ३ प्रतिशत ब्याजदरमा बढीमा २५ लाख रुपैयाँसम्मको सुलभ कर्जा पाउन सकिने भएको हो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




