पोखरा महानगरले किसानलाई दियो कृषि उपकरण

-



     सफल आवाज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित



पाेखरा, ८ चैत । पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरुलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ ।

चालु आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन।

महानगरले हाते ट्रयाक्टर २ सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर १ सय ८ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन ६ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ । कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो ।

कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। किसानलाई खेती गर्न सहज होस भनेर कृषि उपकरण प्रदान गरिएको हो ।

परम्परागत रुपमा खेती लगाउँदा समय धेरै लाग्छ”, प्रमुख आचार्यले भने–“खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।” कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए। “कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, आचार्यले भने।

अनुदान सहयोगमा हाते ट्रयाक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योती गुरुङले समय र पैसा बचत हुने बताइन। “गाउँमा हाते ट्रयाक्टर थिएन् । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि एक घण्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो”, उनले भनिन्।