चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

-



     सफल आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित



बेइजिङ, १२ चैत । चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गरे ।

चीनले तेगुसिगल्पाको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ । होन्डुरस र ताइवानले औपचारिक रूपमा एकआपसको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै तेगुसिगल्पा र बेइजिङबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । विश्वका १४ सार्वभौम राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम गरेको ताइवानलाई अब भ्याटिकन सिटीलगायत १३ देशले मात्र मान्यता दिएका छन् ।

यसैबीच, एशोसिएटेड प्रेसले दुई देशबीचको नयाँ सम्बन्ध बेइजिङ र संयुक्त राज्य अमेरिका बीचको बढ्दो तनावका बेला कायम भएको जनाउँदै स्वशासित ताइवानप्रति चीनको बढ्दो दृढता र ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ प्रभावको सङ्केत गरेको बताएको छ । यसअघि होन्डुरसका विदेशमन्त्री एडुआर्डो रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताए ।

उहाँले आफ्नो देशको आर्थिक आवश्यकता पूरा गर्न ताइवानले सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताए। विदेशमन्त्री रेनाले ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको बताए ।

होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै सहायता प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उनको कथन थियो । मध्यअमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।