सरकारी स्कुलमा छोराछोरी पढाउने परिवारलाई निः शुल्क स्वास्थ्य बीमा

-



     सफल आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित



तनहुँ, १४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमा दिने भएकाे छ । यसअघि स्वास्थ्य बीमामा गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो ।

गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउनुपर्ने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

‘पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाैँ’, अध्यक्षले भने, ‘स्वास्थ्य बीमा गरेपछि नागरिकले १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।’

स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार ३ हजार ५०० रुपैयाँ शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास पालिकाको छ ।

सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण गर्दै आएको अध्यक्षले बताएका छन् ।

विद्यालयमा विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ ।

सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको पालिकाको भनाई छ ।