बेलायत नरेश बुन्डेस्टागलाई सम्बोधन गर्दै

-



     सफल आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित



बर्लिन, १६ चैत । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दैछन्। बेलायतको राजसिंहासन सम्हालेपछि भएको उहाँको यो पहिलो विदेश भ्रमणमा हो ।

बेलायत नरेशका रुपमा जर्मन संसद्लाई उनले पहिलोपटक सम्बोधन गर्दैछन् । त्यसअघि उनले चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायतका तत्कालीन युवराज चाल्र्सले सन् २०२ मा पनि जर्मन संसद्लाई सम्बोधन गरेका थिए । मेलमिलाप दिवसका आवसरमा भएको उनको त्यो सम्बोधनलाई दुई देशबीचको युद्धपछिको मेलमिलापको प्रतीकका रूपमा हेरिएको थियो ।

धारा प्रवाह जर्मन भाषा बोल्ने क्षमता भएका उनले आज जर्मन र अङ्ग्रेजी दुवै भाषामा संसद्लाई सम्बोधन गर्ने ठानिएको छ । बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिला एल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ बुधबार ब्रान्डनबर्ग गेटमा भव्य स्वागत गरेका थिए। बुधबार नै बेलायती विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति स्टेनमेयरले बेल्लेभ्यु प्यालेसमा राजकीय भोज आयोजना गरेका थिए । त्यस अवसरमा राजा चाल्र्सले बेलायत र जर्मनीबीच विद्यमान चिरस्थायी सम्बन्धको सराहना गरे।

राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन्। नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्सको यो भ्रमण भएको हो । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उहाँको भ्रमण स्थगित भएको थियो ।