आन्दोलन गरेर ब्याजदर घटबढ हुदैन : बैंकर्स संघ अध्यक्ष केसी

-



     सफल आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ चैत । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले आन्दोलन गरेर बैंक, वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने बताएका छन् ।

बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । ‘ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ’, केसीले भने ।

बैंकिङ क्षेत्रमाथि चारैतिरबाट आक्रमण भइरहेको उनले आरोप लगाए। ब्याजदरका नाममा ४ करोड खातावाला र समग्र औद्योगिक क्षेत्रमाथि हमला भएको उनको भनाइ छ।

उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाहिर चर्चा भएजस्तो महँगो नभएको दाबी गरेका छन्। हाल वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १३.३ प्रतिशत रहेको छ।

‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न मिल्दैन’, केसीले भने, ‘अहिलेको ब्याजदर लकडाउन हुनुअघिको अवस्थामा पुगेको मात्रै हो। यद्यपि यो ब्याजदर पनि घटाउन प्रयत्नरत छौं ।’