महासंघको निर्वाचन : ११८ उम्मेदवारमध्ये ६ जना मात्र महिला

-



     सफल आवाज    
     चैत्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ चैत । नेपाल उद्योग वाणिज्य महासंघको २९ चैतमा हुने निर्वाचनमा ११८ जना उम्मेदवार हुँदा ६ जना मात्र महिला उम्मेदवार छन।

त्यो पनि सदस्य पदका लागि मात्र उम्मेदवार छन्। पदाधिकारीमा भने कोही पनि महिला उम्मेदवार छैनन्। एसोसिएटमा ३० जना उम्मेदवार हुँदा राज्यलक्ष्मी महर्जन र जुना माथेमा २ जना मात्र महिला उम्मेदवार छन्। उनीहरू दुवै जना काठमाडौंकै हुन्।

उद्योग वाणिज्य संघतर्फका १६ पदका लागि ३२ जना उम्मेदवार हुँदा पाल्पाकी कल्पाना गैरे मात्र महिला उम्मेदवार छन्।

वस्तुगत संघतर्फ २८ जनाको उम्मेदवारी पर्दा काठमाडौंकी शोभा ज्ञवाली मात्र महिला उम्मेदवार छन्। एसोसिएट सदस्य समूहतर्फ १ पदका लागि २ जना उम्मेदवार हुँदा सुनसरीबाट ज्योत्सना श्रेष्ठ महिला उम्मेदवार छन्।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। त्यही प्रावधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल ३० चैतदेखि स्वतः अध्यक्ष हुँदै छन्।

विशेष महत्वका रूपमा हेरिएको वरिष्ठ उपाध्यक्ष १ पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन्, जसमा काठमाडौंबाट रामचन्द्र संघाई, कास्कीबाट अंजन श्रेष्ठ र काठमाडौंबाट उमेशलाल श्रेष्ठले आ–आफ्नै प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। उद्योग वाणिज्य समूहको १ पदका लागि ३ जनाकै उम्मेदवारी परेको छ, जसमा काभ्रेपालांचोका सुरकृष्ण वैद्य, मकवानपुरबाट अरुणराज सुमार्गी र काठमाडौंबाट दिनेश श्रेष्ठ छन्।

त्यस्तै, वस्तुगत समूहको १ पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ, जसमा काठमाडौंबाट सुकुन्तलाल हिराचन, ललितपुरबाट मनीषलाल प्रधान र झापाबाट हेमराज ढकाल छन्। एसोसिएट सदस्य समूहतर्फ १ पदका लागि २ जनाको उम्मेदवारी परेको छ, जसमा सुनसरीबाट ज्योत्सना श्रेष्ठ र ललितपुरबाट भरतराज आयार्य छन्।

७ वटै प्रदेशको १–१ जना सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ, जसमा कोसीमा ३ जना, मधेसमा २ जना, बाग्मतीमा २ जना, गण्डकीमा २ जना, लुम्बिनीमा १ जना, कर्णालीमा ३ जना र सुूुरपश्चिममा २ जना उम्मेदवार छन्। वस्तुगत संघको १४ सदस्यका लागि २८ जना उम्मेदवार छन् भने उद्योग वाणिज्य संघतर्फ १८ पदका लागि ३२ जना उम्मेदवार छन्। त्यस्तै, एसोसिएटतर्फ १९ पदमा ३० जना उम्मेदवार छन् ।