स्वास्थ्य विभागको टोलीद्वारा डायलासिस सेवाकाे निरीक्षण

-



     सफल आवाज    
     चैत्र २४ गते २०७९ मा प्रकाशित



दोधारा चाँदनी, २४ चैत । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।

स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, वरिष्ठ कंसल्टेन्ट नेप्रोलोजीस्ट डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिनाले सञ्चालनको तयारीमा रहेको डायलासिस सेवाको निरीक्षण गरेका हुन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अवस्थामा स्वास्थ्य सेवा विभागबाट अनुमतिका लागि निरीक्षण गरिएको बताए ।

“स्वास्थ्य सेवा र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट आएको टोलीले निरीक्षण गर्नुभएको छ”, अध्यक्ष भट्टले भने, “शुक्रबारदेखि परीक्षणका रुपमा डायलासिस सेवा सुरु गर्ने गरि तयारीमा लागेका छौँ”, उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको बताए।

यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । “सेवा सुरुका लागि सबै तयारी पूरा भएको अनुमति पाउन मात्रै बाकीँ हो”, उनले भने, “तत्काललाई दुई सिफ्टमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौँ ।” महाकाली प्रादेशिीक अस्पतालका व्यवस्थापन समिति सदस्य इन्द्र साउँदले बिहीबार विभागको टोलीले डायलासिस बार्डको निरीक्षण गरेको बताए।

“विभागको टोलीले निरीक्षण गरेको छ तुरुन्तै सेवा सुचारु गर्ने तयारीमा अस्पताल व्यवस्थापन समिति छ”, साउँदले भने, “आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा सुचारु हुनेछ”, अस्पतालका मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको बताए। “सङ्घीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो”, डा भट्टले भने, “अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुरु हुन्छ ।”

महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ । “यहाँ धनगढीको सेती अस्पतालमा मात्रै डायलासिस हुन्छ त्यहा बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, यहाँका स्थानीय गोपाल जोशीले भने, “हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ”, उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए।

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आए यहाँका बिरामीले धनगढीलगायत अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता हट्ने छ । हाल कञ्चनपुरबाट सय बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजार जाने गरेका छन् ।