मेन्छियाम हाइड्रोपावरको आईपीओ वैशाख ४ गतेदेखि खुल्दै

-



     सफल आवाज    
     चैत्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ चैत । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागी आईपीओ २०८० साल वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म खुल्ने भएको छ ।

सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा वैशाख १९ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशीक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याएको आईपीओ बाँडफाँट गरेसँगै अब आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको १६ लाख २७ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्टाएका थियो ।

जस मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित ५ लाख ५ हजार ७८० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि बाँडफाँड गरिसकेको छ ।

त्यस्तै १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताहरुले बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरमा लागि आवेदन दिन सक्ने छन् । कम्पनीको बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल रहेको छ ।