यसरी हुदैंछ नेपाल उद्योग वाणिज्य महासंघकाे नेतृत्व चयन

-



     रमेश पाैडेल    
     चैत्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ७७ सदस्यीय कार्यसमिति मध्ये ६४ जना निर्वाचन प्रणालीबाट चुनिने भएका छन । बाँकी रहेका १६ जना मनोनित हुने महासंघका प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले बताएका छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन । त्यही प्रावधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल ३० चैतदेखि स्वतः अध्यक्ष हुने भएका हुन।

महासंघमा १ वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला नगर र एसोसिएटका १-१ गरी ३ उपाध्यक्ष, एसोसिएटबाट १९, जिल्ला, नगरबाट १८, वस्तुगतबाट १४, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट १, संस्थापक सदस्य समूह १ र ७ वटा प्रदेशबाट १-१ जनाका दरले ७ जना केन्द्रीय सदस्यहरू निर्वाचनबाट छानिने पौडेलले सफल आवाजलाई जानकारी दिए ।  

७ वटा प्रदेशका उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छ । कोषाध्यक्षका लगि ६४ जना निर्वाचितमध्येबाट उम्मेदवार बन्छन्। निर्वाचित कार्यसमिति ६४ जनाले मतदान गरेर चुनिएका व्यक्ति नै कोषाध्यक्ष हुनेछन ।
कार्यसमितिको सिफारिसमा अध्यक्षले ३ जना सदस्य मनोनीत गर्न पाउनेछन भने २ जना केन्द्रीय सदस्य अध्यक्ष आफैँले मनोनीत गर्न पाउने व्यवस्था रहेकाे बताइएकाे छ।

यस्तै, महासंघको पदाधिकारीमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्ष (विशिष्ट सदस्य)का रूपमा रहने व्यवस्था छ। महासंघले प्रत्येक ३-३ वर्षमा ‘उद्योग दिवस’ मनाउँदै २८ र २९ चैतमा निर्वाचन गर्ने गरेको छ । वरिष्ठ उपाध्यक्षको हकमा सबै प्रतिनिधिले भोट दिन पाउँछन् । उपाध्यक्ष र सदस्यको हकमा भने आ–आफ्नो क्लस्टरका भोटरले मात्र मत दिन पाउँछन् । जस्तो, वस्तुगततर्फका उपाध्यक्ष र सदस्यलाई वस्तुगततर्फका प्रतिनिधिले मात्र मत दिन पाउँछन् भने जिल्ला, नगरतर्फकालाई जिल्ला नगरकाले मात्र भोट दिन पाउने पौडेलको भनाइ छ ।

जिल्ला, नगरतर्फ १७ जना प्रतिनिधि (भोटर) छन् । उनीहरूले आफ्नो क्षेत्रका उपाध्यक्ष र सदस्यलाई दिएको भोटको १ भोट गणना हुन्छ । तर, वरिष्ठ उपाध्यक्षको हकमा भने जम्मा खसेको सदर भोटको ५० प्रतिशत मात्र गणना हुन्छ । एसोसिएटतर्फ १ हजार ७४८ जना प्रतिनिधिले भोट हाल्न पाउँछन् ।

एसोसिएटतर्फका उम्मेदवारको हकमा १ जनाले दिएको मतको १ मत गणना हुन्छ । वरिष्ठ उपाध्यक्षको हकमा भने जम्मा खसेको सदर मतको ३० प्रतिशत मात्र गणना हुने महासंघको निर्वाचन मण्डललीले जनाएको छ ।

वस्तुगततर्फ १२३ जना प्रतिनिधिले मत हाल्न पाउँछन्, जसमा वस्तुगततर्फबाट उपाध्यक्ष र सदस्यलाई उनीहरूले दिएको भोटको १ मत नै गणना हुन्छ । वरिष्ठ उपाध्यक्षको हकमा भने जम्मा खसेको सदर मतको २० प्रतिशत मात्र मतगणना हुन्छ ।
आफ्नो क्षेत्रबाट काम गर्ने व्यक्तिहरूले आ–आफ्ना संघ वा महासंघ गठन गरेका छन् । ती संघ वा महासंघले नेपाल उद्योग वाणिज्य महासंघमा दर्ता गराउने पौडेलले जानकारी दिएका छन् ।  

द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा हाल १२ वटा संस्थाहरू छन्, जसबाट १ जना केन्द्रीय सदस्य छान्ने व्यवस्था छ । तर, हालसम्म यो पद सर्वसम्मत हुने गरेको छ । यी सदस्यले वरिष्ठ उपाध्यक्षलाई पनि मत दिन पाउँदैनन् । संस्थापक सदस्य समूहबाट १ केन्द्रीय सदस्यका लागि २ जना उम्मेदवार छन् । उनीहरूले पनि वरिष्ठ उपाध्यक्षलाई भोट हाल्न नपाउने पौडेल बताउँछन् ।

पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षले ५० प्रतिशत मत नकटाए पहिलो र दोस्रो हुने बीच दोस्रो चरणमा निर्वाचन हुन्छ । विगतमा वरिष्ठ उपाध्यक्षमा २ जना मात्र उम्मेदवार हुने गरेकाले त्यस्तो अबस्था आएको थिएन । तर यो पटक भने ३ जना उम्मेदवार भएकाले दोस्रो चरणमा निर्वाचन हुने सक्ने पौडेलकाे भनाइ छ।

यदि दोस्रो चरणमा निर्वाचन भएमा ३० चैतको लागि निर्वाचन तोकिएको पौडेलले सफल आवाजको कुराकानीमा बताए । त्यही उम्मेदवारी दर्ता गराएका मध्येबाट कुन कुन व्यक्तिलाई प्रतिनिधि पठाउने हो भनेर सम्बन्धित संस्थाले उद्योग वाणिज्य महासंघलाई सूची पठाउँने ब्यबस्था छ।

महासंघले आफ्नो क्षेत्रगत उम्मेदवारको समेत सूची पठाएको आधारमा मात्र उद्योग वाणिज्य महासंघको उम्मेदवार बन्न पाउँछन् । त्यो जिल्ला, नगर, वस्तुगत र एसोसिएट गरेर ३ वटै क्षेत्रमा लागू हुने अधिकृत पौडेलको भनाइ छ ।

महासंघमा लुम्बिनी प्रदेशतर्फका सदस्य जम्शेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनिल केसी गरेर २ जना सर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष १ पदका लागि काठमाडौंबाट रामचन्द्र संघाई, कास्कीबाट अञ्जन श्रेष्ठ र काठमाडौंबाट उमेशलाल श्रेष्ठ सहित ३ जनाको उम्मेदवारी परेको छ।

उद्योग वाणिज्य समूहको १ पदका लागि ३, वस्तुगत समूहको १ पदका लागि पनि ३ जना र एसोसिएट सदस्य समूहतर्फ १ पदका लागि २ जनाको उम्मेदवारी परेको छ।

७ वटै प्रदेशका १-१ जना सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । जसमा कोशीमा ३, मधेसमा २, बाग्मतीमा २, गण्डकीमा २, लुम्बिनीमा १, कर्णालीमा ३ र सुदूरपश्चिममा २ जनाको उम्मेदवारी परेको छ । वस्तुगत संघका १४ सदस्यका लागि २८, उद्योग वाणिज्य संघतर्फ १८पदका लागि ३२ र एसोसिएटतर्फ १९ पदका लागि ३० जनाको उम्मेदवारी परेको बताइएकाे छ ।