ब्राजिलका राष्ट्रपति लुलाको चीन भ्रमण, युक्रेन विवादबारे पनि छलफल हुने

-



     सफल आवाज    
     चैत्र २७ गते २०७९ मा प्रकाशित



साओ पाउलो, २७ चैत । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार र युक्रेनको मध्यस्थताबारे छलफल गर्न आगामी साता बेइजिङमा भेटवार्ता गर्नेछन्। सतहत्तर वर्षीय वामपन्थी नेता लुलाले आफ्ना अति दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा गुमेको केही समयपछि भूराजनीतिक मञ्चमा ब्राजिलको भूमिका पुनः प्राप्त गर्ने आशा गरेका छन् ।

विश्वको दोस्रो अर्थतन्त्र र एशियाली शक्ति राष्ट्रको मार्च २५ देखि ३० सम्म भ्रमण गर्ने तय भए पनि स्वास्थ्यका कारण भ्रमणलाई स्थगित गर्नुपरेको थियो । राष्ट्रपति लुला मङ्गलबार चीन पुग्नु हुनेछ भने शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसैबीच युक्रेनका विदेशमन्त्री माउरो भिएराले लुलाको भ्रमणबारे प्रतिक्रिया दिँदै भने, “उनीहरूले युक्रेनमा जारी युद्धका बारेमा कुरा गर्नेछन् र लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनेछन्।

“लुला स्वदेश फर्कने बेलासम्ममा मध्यस्थकर्ता राष्ट्रहरूको एउटा समूह तयार भइसकेको हुनेछ,” भिएराले भने । यसअघि दुई पटक ब्राजिलको राष्ट्रपति भइसकेका लुला इरान र अमेरिकाबीचको आणविक वार्ताका क्रममा सन् २०१० मा समाप्त भएको आफ्नो दोस्रो कार्यकालमा जस्तै दक्षिण अमेरिकी महाशक्तिलाई मध्यस्थकर्ताका रुपमा प्रस्तुत गर्न इच्छुक छन्।

तर गत वर्ष युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनजत्तिकै युद्धका लागि ‘जिम्मेवार’ रहेको दाबी गरेपछि उनको कुटनीतिक भूमिकाको अवसर पछि परेको थियो । उनले युक्रेनको प्रतिरक्षामा सहयोग गर्न पश्चिमा राष्ट्रसँग मिलेर हतियार पठाउन पनि अस्वीकार गरे ।