राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित

-



     सफल आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं २९ चैत, । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेकाे अभियाेग लागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निष्काशन गर्ने भएकाे छ ।

बुधबार बसेको पार्टीकाे केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि अब उनकाे सांसदकाे पद समेत गुम्ने भएकाे छ ।

प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । साे सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले छानबिन थालेको थियो । साथै बुधबारकाे केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर केही प्रश्न सोधिएको थियो । बैठकमा श्रेष्ठले पटक पटक अडियो आफ्नो होइन भनेका थिए ।

ढाका श्रेष्ठले निरन्तर बोली फेरेको र अहिले हामीसंगैं बार्गेनिङमा उत्रिएको सभापति रवि लामिछानेले आरोप लगाएका छन ।

रास्वपाले ढाकाको ठाउमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने समेत निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीकाे सचिवालयले जनाएकाे छ । तर उनलाई निष्कासन गर्ने रास्वपाको निर्णयलाई सभामुखले कसरी लिन्छन् त्याे हेर्न बाकी नै छ ।