
कञ्चनपुर, ३० चैत । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पनि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसपछि महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन ।
आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए ।
‘हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ ’, उनले भने ।
उनले दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटनको टुङ्गो नलाग्दा नहरमा पानी सञ्चालन अन्योलमा परेको बताए ।
टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना सङ्क्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो ।
आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्याउन समस्या हुने छैन । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने उल्लेख छ ।








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




