
चितवन/बारा, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान सर्बदलीय बैठक बस्दै छ । गएराति मतपेटीका मतगणनास्थलमा आइसके पछि सर्वदलीय बैठक बस्ने भनिएको थियो ।
आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। उनीहरुद्वारा जारी सूचनामा आज बिहान उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताए।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।
बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै
बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
“आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ”, उनले भने, “सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थालेको छ, बैठकलगत्तै मतगणना सुरु गर्छाैं ।” सम्भवत बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी रहेकाे उनको भनाइ छ । मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




