अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ गीतकार खरेललाई

-



     आरजू विष्ट सल्यानी    
     वैशाख २३ गते २०८० मा प्रकाशित


पोखरा, २३ वैशाख । पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई अर्पण गरिएको छ ।

पोखरामा आज आयोजित पहिलो संस्करणको पुरस्कार अर्पण समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुईलाख राशिको सो पुरस्कार, ताम्रपत्र र दोसल्लाले खरेललाई सम्मान गरे ।

समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङले संगीत सम्राट अम्बर गुरुङको नाममा स्थापित पुरस्कार उनकै समकालिन साथी वरिष्ठ गीतकार खरेललाई अर्पण गर्न पाउँदा गौरव लागेको बताए ।

म साहित्यको साधक होईन । फाट्टफुट्ट पढ्ने गरेको छु । किरण खरेलको गीति लेखनको कुरा गर्नु भनेको सूर्यको खगाडी दीयो बालेझैं हो । गुरुङले भने, सबैथोक सरकारले पनि गर्न सक्दैन । तपाँईहरुले गरेको काम सह्रानीय रहेकाे छ ।

समाजको तर्फबाट, संघ, संस्थाको तर्फबाट अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गरेर पहिलो संस्करणको पुरस्कार दीग्गज गीतकार खरेललाई प्रदान गर्नु एक प्रेरणादायी कार्य भएको बताए ।

सम्मान ग्रहण गरेपछि गीतकार खरेलले गर्वानुभूति भएको बताए । उमेर ८५ वर्ष पुगेपनि गीत लेखनमा सक्रिय रहेका खरेलले २०३४ सालदेखि पोखरेली युवा सांस्कृतिक परिवार साहित्य, कलाको उन्नयनको लागि निरन्तर सक्रिय भईरहनु प्रशंसनीय कार्य भएको बताए।

खरेलले भने, यो सम्मान अम्बर गुरुङलाई हो । नेपाली जनमानसमा संगीत, गीत र गायनका त्रिबेणी गुरुङ मभन्दा केहि महिना जेठो हुन् । उनकै नामा स्थापित पुरस्कार पाउनु जीवनकै एक अविश्मरणीय क्षेण भएको बताए ।

२०२४ सालमा म रुपरेखा संगीत कार्यक्रमको लागि पोखरा आएको थिएँ । दार्जिलिङबाट अरुणा लामा, शरण प्रधान, रन्जित गजमेर, पिटर जे कार्थक, अम्बर गुरुङ, शान्ति ठटाल लगायतका आएका थिए । पोखरामा त्यो कार्यक्रम मैले नै संचालन गरेको थिए । खरेले भने, अम्बर गुरुङको संगीतमा मेरा चलचित्रमा पाँच र अन्य पाँच गरि १० वटा संगीतवद्ध भएका छन् ।

अम्बर गुरुङका छोरा राजु गुरुङले आफ्नो बुबाको नाममा स्थापना भएको पुरस्कार अर्पण समारोहमा आउन पाउँदा खुसि लागेको बताए । बुबाको नाममा पुरस्कार स्थापना गर्नु र पोखरामा अर्पण गर्नुले राष्ट्रिय स्थान पाएको बताए । उनले भने, काठमाडौंमा यो भएको भए त्यस्तो चर्चाको विषाय हुनेथिएन । यो पुरस्कार अम्बर गुरुङको नाममा स्थापना भएको पहिलो पुरस्कार भएको र महत्व झन बढेको बताए ।

नेपाल संगीत नाट्य एकेडेमिका संस्थापक सदस्य सचिव तथा साहित्यकार तीर्थ श्रेष्ठले संगीत, गीत र गायनका त्रिबेणी अम्बर गुरुङको नाममा पोखरामा स्थापना गरि किरण खरेललाई पुरस्कार अर्पण गर्न पाउनु अहोभाग्य भएको बताए ।

खरेल नेपाली आधाुनित गीत लेखनका हस्ति हुन । खरेलको बयान गरेर सकिन्न । उनका बारेमा बोल्दै श्रेष्ठले २०१४ सालमा १९ वर्षको उमेरमा अब्बल गीत लेखनको शुरुअत गरेका खरेल वर्तमान गीत लेखनमा लागेका र आउने पुस्ताका लागि पनि प्रेरणाको श्रोत भएको बताए । किरण दाईको गीत नै मभन्दा जेठो छ । ए दूरका सीतारा तेरो चाँदनी कहाँ छ ? जसलाई बटुकृष्ण ज्वालाले गाए । खरेलका हालसम्म ७ सय गीत रेकर्डमा रहेका छन् ।

नेपाल संगीत नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्तले अम्बर गुरुङ संगीत पुरस्कारका लागि जनजनबाट कोषका लागि रकम सहयोग भएको बताए । उनले देश विदेशका रहेका व्यक्ति तथा संघ संस्थाहरुबाट सहयोग भएको बताए । उनले कोषलाई रु २५ लाख पुर्याउने लक्ष्य रहेको बताए । उनले साहित्यका अन्य विधा जस्तै गीत लेखनलाई पनि गम्भिर बिधाको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा गीतकार खरेलको ए दूरका सितारा गीत संग्रहको विमोचन पनि गरियमे । सो पुस्तकको गण्डकी प्रदेश प्रमुख तथा कार्यक्रममा अतिथि पृथ्वीमान गुरुङले विमोचन गरे । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची लगायतले शुभकामना व्यक्त गरेका थिए ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेललको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।