श्री एयरलाइन्सको जहाज उडानमा किन लाग्याे प्रतिबन्ध ?

-



     सफल आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । आज बिहान भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनःसोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्गमा साे जहाज अड्किएकाे थियाे । जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो । जसका कारण केहि समय भैरहवाकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे सबै उडान प्रभावित बनेकाे थियाे ।