न्याय, सुशासन र दिगो विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु

-



     सफल आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ वैशाख । ‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

काठमाडौं विश्वविद्यालय, नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस) को अगुवाइमा सोसल साइन्स एण्ड ह्युमानिटी एशोसिएन भारत, समाजशास्त्रीय समाज नेपाल र नेपाल अङ्ग्रेजी शिक्षक सङ्घको सहकार्यमा आयोजित सम्मेलनमा समाज विज्ञानका विभिन्न विद्यामा दख्खल भएका ७० भन्दाबढी अध्येताको सहभागिता छ ।

सम्मेलनमा भारतबाट मात्र ५० बढी प्रस्तुति रहनेछ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति डा भोला थापाले सम्मेलनको शुभारम्भ गर्दै यस्ता सहकार्यले समग्रमा दक्षिण एशियालाई एक पहिचानका रुपमा अगाडि बढाउन सहयोग गर्ने बताए। यस प्रकारको सहकार्यका लागि काठमाडौँ विश्वविद्यालय तयार रहेको र यस्ता कार्यक्रमले संसारका कुनाकुनामा रहनेले पनि शैक्षिक संस्थालाई सम्झेको अनुभव आफूले गरेको बताए।

प्राध्यापक कृष्ण खनालले अहिलेको परिस्थितिमा सुशासन तथा विकासका नाममा बन्ने योजनाहरु कसैको हितमा भइरहेको पाइएकोमा चिन्ता व्यक्त गरे। उनले यस्ता छलफल कुन कार्यक्रम ? कस्का लागि डिजाइन गरिएको हो र कार्यक्रम कस्को हितमा छ भन्ने विषयमा केन्द्रित रहेर काम भएमा सम्मेलनको सान्दर्भिकता रहने बताए।

सोसल साइन्स एण्ड ह्युमानिटी एशोसिएन, भारतका प्रतिनिधि प्राध्यापक अश्विनी अग्रवाल, राजस्तानका समाजशास्त्री आलोककुमार मिना, समाजशास्त्रीय समाज नेपालका सदस्य विष्णु बस्याल र नेपाल अङ्ग्रेजी शिक्षक सङ्घकी अध्यक्ष मोतीकला सुब्बा दवान, इण्डियन इष्टिच्युसन अफ मास कम्युनिकेशन–आइआइएमसीका प्राध्यापक सुर्भी दहिया, स्कुल अफ आर्टसका डिन एक्कुमाया पुन लागयतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्षता गर्दै प्राध्यापक लोकराज बरालले न्याय र सुशासनका क्षेत्रमा नेपालले धेरै काम गर्नुपर्ने बताए। उनले स्रोतको असमान वितरण भएको र बहुसङ्ख्यक जनसङ्ख्या स्रोत र साधनको पहुँचबाट टाढा रहेको अवस्थामा नेपालका दलित, जनजाति तथा कमजोर वर्गको विषय छलफलमा नल्याएसम्म देश र समाजले प्रगतिको पथ लिन नसक्ने धारणा राखे। डा उद्धव प्याकुरेल र समाजशास्त्री आलोककुमार मिनाले कार्यपत्र प्रस्तुत गरे।