धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’

-



     सुशीला रेग्मी    
     वैशाख ३० गते २०८० मा प्रकाशित



रामपुर (पाल्पा), ३० वैशाख । कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् ।

केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य मिल्ने जनविश्वास छ । मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी नदी किनारमा अवस्थित यहाँ विशेषत हिन्दू धर्म संस्कारका कार्यका लागि यो धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ । मन्दिर पुनःनिर्माण, ज्येष्ठ नागरिक भवन, महन्त निवास, भान्छाघर, खानेपानी ट्याङ्की निर्माणलगायतका पूर्वाधार विकास हुँदै गएपछि धार्मिक पर्यटक बढेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताए।

“देवघाटधाम जस्तै बनाउने सङ्कल्पसाथ भौतिक संरचना तयार पारेपछि सबैजसो उमेर समूहका मानिस आउनेक्रम बढ्दो छ”, उनले भने, “पहिला काम विशेषले मात्रै आउने अचेल घुमफिर, अवलोकनलाई आउँछन् ।” शनिबार र बिदामा चहलपहल बढ्दो छ । कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनलाई आउने गर्छन् । बस, कार, भ्यान, जीप मन्दिरसम्म पुग्ने सुविधा भएपछि गाडी रिजर्भ गरेर नदी स्नान र धाम दर्शन गरेर फर्कने गरेको पाइएको छ ।

पहिला हिँडेर बाँस बस्ने चलन थियो । यहाँ गौशाला, ज्येष्ठ नागरिकको बसोबासका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ जहाँ २२ ज्येष्ठ नागरिक बस्छन् । विसं २०१० मा निर्माण भएका पुराना कुटी (ज्येष्ठ नागरिक बस्ने घर) अझै भेटिन्छन् । आश्रममा चार दशकदेखि आश्रयस्थल बनाएर बसोबास गर्दै आइरहेको ८० वर्षीय श्यामदासी सिग्देलले बताइन। तनहुँको किहुँ घर बताउने उनका श्रीमान्को मृत्युपश्चात् केलादी आएर बसेका छन्।

१३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी सिग्देल १५ वर्षको कलिलो उमेरमा श्रीमान्को मृत्यु भएपछि केलादीधामलाई आश्रयस्थलका रुपमा लिएकी छ । “सानै उमेरमा बिवाह बन्धनमा बाँधियो, श्रीमान्को मृत्यु भएपछि एक्लो जीवन जीउन सकिएन”, उनले भनिन्, “श्रीमान् नभएपछि आफन्त छरछिमेक सबैबाट अपहेलित भइयो, आश्रममा आएर बस्न थालेपछि कसैको अपहेलना सहनु परेको छैन ।” उनले सरकारले उपलब्ध गराएको ज्येष्ठ नागरिक भक्ताबाट आफ्नो जीविकोपार्जन गरिरहेकी छन् ।

मन्दिरको आश्रममा आफैँले पकाएर खाना खाने गरेकि छन्। जीवनको अन्तिम समय नै यहीँ बिताउने सङ्कल्पका साथ मन्दिरको पूजाआजा, भजनकीर्तनमा सहभागी भएर जीवन व्यतित गरिरहेको पाइन्छ । आश्रममा बस्न थालेपछि एक्लोपनको महसुस नभएको बताउछिन्, ९१ वर्षीय गोपालदासी । मन्दिरमा भजनकीर्तनमा सहभागी हुँदा समय बिताउन सजिलो भएको उनले अनुभव सुनाइन। बिहे गरेको एक वर्षमा नै श्रीमान् बितेपछि सहाराविहीन भएकी उनी बाँकी जीवन बिताउन केलादीधाम आश्रममा गएकी हुन्।

“खाने, उपचार खर्च आफैँले जुटाए पनि बास बस्ने सुविधा पाउँदा हामी असाध्यै खुसी छौँ, कसैको दुव्र्यवहार सहनु पर्दैन, सहाराविहीनका लागि यसरी बस्ने आश्रम पाउँदा धेरै सजिलो भएको छ, घरमा छोराछोरी भएर पनि हेरेनन् भनेपनि यहीँ आएर बस्न पाइने व्यवस्था छ”, उनले भनिन् । ज्येष्ठ नागरिक भक्ता बुझेको रकमले यहाँ बसोबास गर्ने नागरिकले बिहान साँझको जोहो गरिरहेका छन् । पहिला यहाँ एक सय २० कुटी (ज्येष्ठ नागरिक बस्ने घर) थिए । कुटीमा एक सय ५० ज्येष्ठ नागरिकले केलादीधाम क्षेत्रलाई बासस्थान बनाएर बसोबास गर्ने गरेको बूढापाका बताउँछन् ।

आजभन्दा दुई दशकअघिसम्म यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकको ठूलो सङ्ख्या हुन्थ्यो । पहिलाको तुलनामा आश्रममा बसोबास गर्ने अहिले घटेका छन् । विभिन्न प्राचीन पूर्वीय धर्मग्रन्थमा पनि यसको महिमा र गरिमा वर्णन गरिएको छ । शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको किनारमा रहेको यो स्थानमा पुगेपछि मनको बोझ हट्ने र शान्ति प्राप्त हुने विश्वास लिइन्छ । यहाँ मुलुकका पूर्वदेखि पश्चिमसम्मका दर्शनार्थी भित्रिन्छन् । यहाँ निर्मित राधा दामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

कालीगण्डकीको नजिकै रहेकाले शीतल हावासँगै मन्दिर दर्शन, अवलोकन गर्न जानेक्रम बढ्दो छ । यो क्षेत्र कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्तिका लागि धेरै जिल्लाका स्थानीयले आफ्ना दिवङ्गत परिवारजनको अन्तिम संस्कार गर्ने, विभिन्न चापडपर्व, वैशाखे, माघे सङ्क्रान्ति, एकादशी जस्ता पर्वमा नदी स्नान गर्ने गर्दछन् । पुण्यभूमि रहेकाले यहाँ धेरै ठाउँबाट शव दाहसंस्कार गर्न ल्याइने गरिन्छ । केलादीधामको पौराणिक इतिहास विसं २००६ मा निर्माण कार्य थालनी भई २००८ मा सम्पन्न भएको पुरानो सत्तल (दर्शनार्थी तथा बटुवा बास बस्ने ठाउँ) अहिले जीर्ण अवस्थामा छ ।

नौ कोठासहितको चारतले सत्तल नदी स्नान गर्न आउने, बाटो हिँड्ने बटुवा तथा मन्दिर दर्शन गर्न आउनेको आश्रयस्थलका रुपमा लिइन्थ्यो । विसं २०७२ को विनाशकारी भूकम्पले जीर्ण बनाएकाले पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छ । राधा दामोदरको पुरानो मन्दिर विसं २०१३ मा पुनःनिर्माण गरी विधिवत् पूजाआजा गर्ने कार्य सुरु गरियो । सो मन्दिर पनि जीर्ण बनेपछि २०७० सालदेखि निर्माण कार्य थालेर २०७४ मा नयाँ निर्माण भएपछि पूजाआजा सञ्चालन भइरहेको छ ।

मन्दिरको नामबाट राधा दामोदर मावि र राधा दामोदर संस्कृत क्याम्पस चलेको छ । विसं २०३८ मा स्थापित राधा दामोदर माविमा उच्च शिक्षासम्म आधुनिक तथा संस्कृत भाषामा पनि पठनपाठन हुन्छ । उच्च शिक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मध्यनजर गर्दै विसं २०५१ मा राधा दामोदर संस्कृत क्याम्पस स्थापना गरी शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ । मन्दिरमा नै बसेर पढ्न चाहनेका लागि गुरुकूल शिक्षाको पनि व्यवस्था छ । मन्दिरमा गोपाल शरण देव महन्तका रुपमा छन्।

बाटो हिँड्ने क्रममा समस्यामा परेका नागरिक, नदी स्नान गर्न आउने तथा मन्दिर दर्शन गर्न आउनेलाई आपत परेमा संस्थाको संरक्षणमा यहीँ खाना तथा बसोबासको पनि व्यवस्था छ । राधा दामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करिब एक सय ८५ रोपनी जग्गा छ । यसको संरक्षण, रेखदेख, भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा पाल्पा, स्याङ्जा र तनहुँका स्थानीयले सहयोग गरिरहेका छन् । केलादीधाममा दैनिक बिहान ६ देखि साँझ ६ वजेसम्म अखण्ड भजनकीर्तन हुन्छ । एक समूहले दुई घण्टा भजन गर्छन् ।

दिनमा छ समूहमा पालोअनुसार भजनमा सहभागी हुँछन् । चौबिसै घण्टा अखण्ड भजनकीर्तन भइरहने गरेकोमा जनशक्ति अभावमा दिनमा मात्रै नियमित हुन्छ । विसं २०३७ वैशाखदेखि हुँदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको भजन भने बन्द छ ।