सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर

-



     सफल आवाज    
     जेठ १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० जेठ। सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ ।

विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ । त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत हौसला प्रदान गर्ने धेरै हुनुहुन्छ ।

म कुनै समय विक्षिप्त भइ आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिए । रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर त्यसबाट बाहिर निस्किर आज यो अवस्थामा आइपुग्न साथ दिने सबै मेरो यो सफलतामा म जत्तिकै हकदार हुनुहुन्छ । हामी नेपालीहरु सगरमाथा, बुद्ध र गोरखालीको देशका रुपमा विश्वभर परिचित छौँ । यी तीन वटै कुरामा म व्यक्तिगत रुपमा जोडिएको छु ।

स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौँ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो । तर करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगे । त्यहाँ केही समय सेवारत भए । सेवाकै क्रममा अफगानिस्तान तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगे । फलस्वरुप मेरा घुँडासम्मका दुवै खुट्टा गुमे । घाइते भएपछि मेरा पीडाका दिन सुरु भए ।

शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो । मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन पटक धिक्कारेको छु । अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिए । त्यही बेला पीडा भुलाउन रक्सी बाहना बन्यो । करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो । यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो । हरेक दिन रक्सी अनिवार्य जस्तै बन्यो ।

कतिपटक आत्महत्या गर्ने सोच पलायो अहिले भन्न सक्दिन । तर आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु ? भन्ने सोचले आत्महत्या पनि गर्न सकिन । लामो समयसम्म रक्सीको लतमा फसेपनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो । घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो । म आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराए । यो मेरो जीवन परिवर्तन गर्न सहयोगी बन्यो ।

यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगे । एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो । विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो । यसबीच मैले माउन्टेनरिङसम्बन्धी तालिम लिएँ । माउन्टेन प्रशिक्षक भएर काम पनि गरेँ । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बने । तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगे । हाइ अल्टिच्युडमा कस्तो हुन्छ ? शारीरिक रुपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो ।

स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थाले । जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका म जस्तै १२÷१५ जना साथीहरुका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ । यी सबै अनुभवले मलाई इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने पाठ सिकायो । मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो । मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ । तर सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो । यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो ।

सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिन । त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकेलियो । तर यसपटक भने सफल भएँ । मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस ? म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ ।

यसअघि मैले मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका हिमाल आरोहण गरिसकेको छु । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि मेरो नाममा छ ।