आधिकारिक सूचना बिना प्रदर्शन राेकेकाे भन्दै वितरक कम्पनीले गर्याे ‘आदिपुरुष’ फिल्म उतार्ने निर्णय

-



     सफल आवाज    
     असार ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ असार। अहिले चर्चामा रहेकाे भारतीय फिल्म ‘आदिपुरुष’को नेपालका लागि वितरक कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि देशभर प्रदर्शन राेक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएसँगैं सबैतिर फिल्मको प्रदर्शन रोकिएको बताएका छन ।

काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने निर्णय भएको बताए । ‘हल व्यवसायीले काेहीले फेसबुकमा स्टाटस लेखेको भरमा फिल्म रोक्नुहुन्छ भने हामीले अन्त चलाइरहनु जरुरी छैन,’ उनले भने ।

उता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । समस्या समाधानका लागि मेयर बालेनले तदारुकता नदेखाएको उनकाे गुनासो छ । मेयर बालेनको निर्देशनमा आइतबार बेलुका हलहलमा नगरप्रहरीहरू पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए ।

जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले फेसबुकमार्फत यसलाई भारतमा सच्याउन ३ दिनको समय दिएका थिए ।