
जनकपुर, १० असार । करिब ५ महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए।
आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो । ‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बनेका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको स्वाद चखाउनु पनि थियो ।
तर त्यति धेरै प्रयास गर्दा पनि खोजे र रोजेजस्तो परिकार खुवाउन नपाएकोमा साहलाई अझै पनि पछुतो छ । त्यसको केही समयपछि जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यसहित अर्कोपटक जनकपुर आउने कार्यक्रम त बन्यो तर खोजे र रोजेजस्तो खाना खान नपाउने समस्या फेरि दोहोरिने भयो ।
त्यसैले उहाँले साथीकै रेस्टुराँमा खाना खाने निधो त गर्नुभयो । तर दुई घण्टा कुर्दा पनि ताजा खाना खान पाउनुभएन । त्यसपछि मात्रै जनकपुरधाममा ‘मिथिला थाली’ रेष्टुराँ सञ्चालन गर्ने योजना जन्मिएको साहको भनाइ छ । “म यही माटोमा जन्मिएँ, हुर्किएँ र यहीँको परिवारले ख्याति पनि कमाएँ”, उनले भने, “यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच त थियो तर यति चाँडै गरौँला भन्ने तयारी थिएन ।” ती दुई अनुभवबाट प्राप्त सिकाइले जनकपुरमा मिथिला थाली जन्मिएको उनको भनाइ छ ।
‘मिथिला थाली व्यापारमात्रै होइन’ मिथिला थाली सञ्चालन गर्ने भएपछि त्यसको सम्भावना, मौलिक परिकारका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता बुझ्न साहलाई गाउँ पस्नुपर्यो । जसमा साहलाई दाई दिलीपकुमारले सहयोग गर्नुभयो । तर गाउँमा भने जस्तो सामान पाउन भने गाह्रो भयो । “युवाहरू वैदेशिक रोजगारीमा गएपछि पहिले जस्तो खेती नहु्ने रहेछ । उत्पादन कम हुन थालेपछि खोजेको जस्तो सामान भेट्न गाह्रो भयो”, उनले भने । साहले चार महिनामा गाउँबाट करिब चार सय केजी ‘बिर्या’ जम्मा गरे । बेथेको सागबाट बन्ने एक केजी बिर्याका लागि करिब १० केजी साग आवश्यक पर्छ । अग्रिम भुक्तानी गरेर सङ्कलन गरेको चार सय केजी बिर्याले मुस्किलले एक महिनामात्रै पुग्ने साहले बताए।
त्यसैगरी पाँच सय केजी आँपको अचार, तिलौरी (चामलको कनिकाबाट बन्ने) र एउटा मिथिला थालीमा राखिने १५ देखि १७ प्रकारका परिकारका लागि आवश्यक सामग्री स्थानीय बजार र गाउँघरबाट ल्याइएको उनको भनाइ छ । साहले नेपाली खानाको मौलिकता र विविधतालाई संरक्षण गर्ने, गृहिणीलाई उत्पादनसँग जोडेर एक रुपैयाँमात्रै भए पनि घर–घरसम्म पुर्याउने सपनासहित मिथिला थालीमार्फत परिकारको प्रवर्द्र्धनमा जुटेको बताए। सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिकेका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्षमात्रै भएको राससलाई सुनाए।
“चौध वर्ष इन्डियामा काम गरँे । त्यसपछिका १३ वर्ष लन्डनमा बिताए । म भारतीय खानको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ”, उनले भने। जीविका चलाउनका लागि अनेकन परिकार बनाए पनि बिबिसीबाट प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ले नै बनाएको उनको भनाइ छ । “त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ ।” उनी उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उनको अनुभव छ । नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउनेमात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ ।
लक्ष्यः५ वर्षमा १ सय ‘मिथिला थाली’
भारतमा नौ सय भारु तलबबाट जागिरे जीवन सुरु गरेका साहसँग यतिबेला नाम र दाम दुवै छ । उनलाई नामले मात्रै लाखौँ कमाउने अवसर छ । तर उनी त्यतिमै मात्र सीमित हुन चाहन्नन्। “जागिरबाट कर्जन्हाबाट वैदेशिक रोजगारीमा जाने युवाले के पाउँछन् ?, पाँच वर्षको उमेरमा बुवा गुमाएर सात सन्तान हुर्काउन एकल आमाले के पाउँछन् ?”, उनले भने, “मलाई यी प्रश्नले घोच्यो र उत्तरका रुपमा मिथिला थाली जन्मियो ।”
साहसँग पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पुर्याउने लक्ष्य छ । उनको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ । “यो व्यापारमात्रै होइन, अभियान पनि हो । यसको सफलतासँगै प्रत्यक्षरूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्”, उनले भने “ती रेस्टुराँमा एकल महिलाले काम गर्नेछन् । उत्पादनसँग जोडिने भएपछि सयाँै गृहिणी तथा किसान पनि लाभान्वित हुनेछन् ।”
प्रत्येक मिथिला थालीमा रु एकदेखि तीनसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उनको भनाइ छ । गत असार ६ गते आमाको हातबाट उद्घाटन गरिएको मिथिला थालीमा करिब रु दुई करोड लगानी भएको छ । त्यसयता थालीप्रतिको मानिसहरुको आकर्षणले साहलाई थप हौसला मिलेको छ । साथै उनको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




