पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्रीलाई स्वदेश फर्काउने कानुन पारित

-



     सफल आवाज    
     असार १२ गते २०८० मा प्रकाशित



इस्लामावाद, १२ असार । पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ । सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठह¥याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मङ्गलबार बताएको छ ।

सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए। सर्वोच्च अदालतले उनलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए। त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेको बताइने गरेको छ ।

उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए भने पीएमएल–एनको औपचारिक नेतृत्व पनि उनले नै गर्दै आएको छ । पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ । पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठह¥याउन सक्ने व्यवस्था गरेको उल्लेख मङ्गलबार सरकारका एक प्रवक्ताले गरे।

राष्ट्रपति आरिफ अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सादिक सञ्जरानीले सोमबार उक्त विधेयकमा हस्ताक्षर गर्न कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेको उनले बताए। राजनीतिक विश्लेषक हसन अस्करीले एएफपीसँग भने, “सत्तारुढ पीएमएल–एन र यसको गठबन्धन साझेदारहरू नवाज सरिफलाई फिर्ता ल्याउन चाहन्छन् । यो उद्देश्य प्राप्तिका लागि विधेयक पारित गरिएको हो ।” उनले थपे, “नवाज सरिफ आगामी निर्वाचनमा पीएमएल–एनका लागि मुख्य प्रचारक हुनेछन् ।