
काठमाडौं, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ । सडकमाथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा–१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए। कालिगण्डकी करिडोरअन्तर्गतकै रामपुर नगरपालिका–१ स्याउली बजार र साँखर्दी खोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए।
यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ । रामपुर जोड्ने सडक निस्दी–५, ढुङ्गानाबेँसी नजिकै पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन् ।
बेनी–जोमसोम सडक अवरुद्ध
जिल्लाको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हँुदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएको बताए। उनका अनुसार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको छ ।
बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताए। आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले बताए।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




