
सोल, ४ साउन । दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“कोरिया,अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन यही अगस्टमा संयुक्त राज्य अमेरिकामा हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ,” राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ । सोल र वासिङ्गटनले दक्षिण कोरियाको राजधानीमा पहिलो आणविक परामर्शदात्री समूहको बैठक गरेको केही दिनपछि यो घोषणा भएको हो । प्योङयाङ र सोलबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छभने कूटनीतिक संवाद अवरुद्ध भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकासको लागि आह्वान गरेका छन् । छिमेकीको उक्त आह्वानको जवाफमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले लामो समयदेखिको आफ्नो सहयोगी वासिङ्गटनसँगको निकटता बढाएका छन् ।
उत्तर कोरियालाई नियन्त्रणमा राख्ने प्रयासमा पूर्व औपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्ने प्रयास गरेका छन् । यदि प्योङयाङले आफ्नो आणविक हतियार आफ्ना सहयोगीविरुद्ध प्रयोग गरेमा आणविक हतियारले नै जवाफ दिएर उसको शासन नै अन्त्य गर्ने चेतावनी गत अप्रिलमा सोल र वासिङगटनले दिएका थिए ।
योनहाप समाचार समाचार समितिले अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारमा उक्त सम्मेलन वासिङ्गटन नजिकैको क्याम्प डेभिडमा अगस्ट १८ मा हुने जनाइएको छ । गत मङ्गलबार आणविक हतियारयुक्त एक अमेरिकी पनडुब्बी बुसानको बन्दरगाहतर्फ गएको थियो ।
सन् १९८१ पछि पहिलोपटक अमेरिकी पनडुब्बी बुसान बन्दरगाहतिर गएको हो । प्योङयाङले गत साता लामो दूरीको अन्तरमहाद्विपीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । ठोस इन्धनबाट सञ्चालन हुने लामो दूरीको उक्त क्षेप्यास्त्र अमेरिकासम्म प्रहार गर्ने क्षमताको भएको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




