
ठूलो भय र सन्त्रास सिर्जना गरेको कोभिड १९ महामारीबीच पनि सकारात्मक सोच र आशा राखेर सुरु भएको राष्ट्रिय न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । सफल आवाजको सञ्चालक संस्था सफल मिडिया हाउस प्रालि यो अमूल्य खुसी हाम्रा आदरणीय पाठक, दर्शक, स्रोता, शुभेच्छुक र विज्ञापनदातासँग साट्न पाउँदा हर्षविभोर भएको छ ।
प्रकोप वा महामारी हुन् वा अरु कुनै पनि प्रकारका चुनौती सामना गर्नुको विकल्प हामीसँग थिएन र त्यही चुनौती पार गर्नुमै सफलता निर्भर हुन्थ्यो । चौथो वर्षको खुड्किलामा प्रवेश गर्नुलाई त्यसैको कडीमा राखेर सफल महसुस गरेका छौं । तर यो सबै सफलताको श्रय भने हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनादाता र सहयोगीहरुलाई दिन्छौं ।
विश्वभरकै मिडिया हाउसहरु डिजिटल प्रविधिमा प्रवेश गरेको सन्दर्भमा हामीले सुरु गरेको डिटिजल यात्रा पनि प्राशांगिक र उपयुक्त थियो भन्ने सूचना प्रविधिमा आएको वहार र यसप्रति मानिसहरुको आकर्षणले सत्य सावित गरिसकेको छ । भविष्य डिजिटल पत्रकारिताको नै हो र सूचना तथा समाचार सम्प्रेषणको भरपर्दाे मञ्च अनलाइन माध्यम हो भन्नेमा अब कसैमा द्विविधा रहेन ।
यसमा समयअनुसार परिस्कृत हुँदै खँदिला सामग्रीसहित अघि बढ्नुपर्छ भन्ने मान्यतामा हामी छौं । पत्रकारिताको मूलभूत सिद्धान्त, मर्म र धर्मलाई भने कुनै पनि मूल्यमा सम्झौता गरिनुहुँदैन र नगर्न हामी सधैं प्रतिबद्ध छौं ।
मूल रुपमा अर्थ, विकास, शिक्षा, स्वास्थ्य र सामाजिक आयामहरु केलाउन हाम्रो पत्रकारिता केन्द्रित छ । देशको समृद्धिको आधार पनि तिनै हुन्, सफलताको आधार पनि तिनै हुन् । पत्रकारिताले समाजको निगरानी गर्छ र समृद्धिको यात्रा तय गर्न आफ्नो तर्फबाट योगदान गर्छ भन्ने मान्यताबाट हाम्रो यात्रा जारी छ ।
देशको संविधानलाई शिरोधार्य गर्दै र लोकतन्त्र तथा पूर्ण प्रेस स्वतन्त्रताको पहरेदारी गर्नु कर्तव्य हो भन्नेबोधका साथ हामीले हाम्रो पत्रकारितालाई अघि बढाइरहेका छौं । त्यसकै जगमा हाम्रो यात्रा यहाँसम्म आइपुग्न सफल भएको हो भन्ने विश्वास हो ।
चौथो वर्षको खुड्किलामा पाइला राख्दा आफ्ना कर्तव्य र व्यावसायिक धर्ममा कहिल्यै पनि किञ्चित बिचलित नहुने प्रतिबद्धता दोहोर्याउँछौं । सदा झै यहाँहरुका बहुमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा रहनेछ । धन्यवाद !
दुर्गाप्रसाद हुमागाईं
प्रकाशक तथा प्रधान सम्पादक