
मनाङ, ८ साउन । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि रोग लाग्नु अगावै खोप लगाउन थालिएको हो ।
मनाङका याकचौँरीलाई लम्पी स्किनबाट सुरक्षित बनाउन लम्पी स्किन विरुद्धको खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए। उनका अनुसार ८९ गाई, ९६ गोरु र याक, नाक (झोपा) तथा चौँरी गरी ५१ लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको उनले बताए।
“लम्पी स्किनको सङ्क्रमण धेरै नफैलियोस् भनेर खोप लगाउन थालिएको छ, यसको नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ”, प्रमुख कुसुमले भने, “लम्पी स्किन रोग नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालमा ल्याइएको छ ।” यहाँका पशुलाई लगाउन लम्पी स्किन विरुद्धको भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको उनले बताए।
नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा खोप लगाइसकिएको उनले जानकारी दिए। नार्पाभूमि गाउँपालिकामा बाहेक अन्य पालिकामा सङ्क्रमण फैलिएकाले यहाँका पुशलाई खोप लगाइएको उनले बताए। चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा सङ्क्रमण देखिएको छ ।
आर्थिक वर्ष २०७९÷८० को अन्तिममा मनाङमा लम्पी स्किनको सङ्क्रमण देखिएको हो । “सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ”, उनले भने, “अझै पशुमा खोप लगाउने क्रम जारी रहेको छ ।” अब पालिकाले पशुको सहायक उपचारका लागि एन्टीबायोटिक्स सुई जिट, मेलोक्सिकाम र रेष्टोवल इम्युनोवुष्टर लगायतका औषधि खरिद गर्न सक्ने उनले बताए।
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य भइरहेको उनले बताए। पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउने कार्य भइरहेको प्रमुख कुसुमले जानकारी दिए। उनका अनुसार भेटेरिनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिएको उनले बताए।
पशुलाई टोक्ने लामखुट्टे, माखाबाट जोगाउन पशुपालक किसानलाई सचेतना जगाउन कार्यमा पनि लागिरहेका उनले बताए। बिरामी परेका पशुलाई स्याहारसुसार गरी सङ्क्रमण नभएका पशुको नजिक नजान, सरसफाइ गरेरमात्र अन्य वस्तुको स्याहारसुसार गर्न सुझाव दिइएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




