इजरायली प्रधानमन्त्री नेतन्याहूको स्वास्थ्यमा सुधार, विवादास्पद विधेयकमा मतदानको तयारी

-



     सफल आवाज    
     श्रावण ८ गते २०८० मा प्रकाशित



जेरूसेलम, ८ साउन । इजरायली प्रधानमन्त्री नेतन्याहूलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ । नेतन्याहूको कार्यालयबाट ७३ वर्षीय नेतान्याहुलाई मुटुको गति नियमित गर्ने ‘पेसमेकर’ जडान गरिएको एक दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन ।

गत हप्ता चक्कर लागेपछि अस्पताल भर्ना भएको र सामान्य उपचारपछि घर फर्किएका थिए। तर उनलाई पेसमेकर जडान गर्नुपर्ने बताइएपछि आइतबार शल्यक्रियामार्फत् उक्त यन्त्र जडान गरिएको थियो ।

यसैबीच, इजरायलको निकट सहयोगी अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘विभाजनकारी’ विधेयकलाई स्थगित गर्न आह्वान गरिरहँदा इजरायली सांसदहरूले कट्टर दक्षिणपन्थी सरकारको विवादास्पद न्यायिक सुधारको एउटा प्रमुख पक्षमाथि सोमबार अन्तिम मतदानको तयारी गरेका छन् ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सम्झौताका लागि अन्तिम प्रयास गरेका बेला सांसदहरूले रातभर बहस गरेका थिए । उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अस्पतालमा भेटेर यस सम्बन्धमा जानकारी गराएको थियो । नेतन्याहूले अस्पतालको शैयाबाट आफू छुटेपछि तत्काल मतदानका लागि संसद्मा जाने बताएका थिए ।

प्रस्तावित न्यायिक सुधारले राष्ट्रलाई विभाजित गरेको छ र जनवरीमा यसको जानकारीपछि, इजरायलको इतिहासमा सबैभन्दा ठूलो विरोध आन्दोलनहरू मध्ये एकलाई निम्त्याएको छ । प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा उत्रिएका छन् । नेतन्याहूले सर्वोच्च अदालतको शक्तिलाई नियन्त्रण गर्ने प्रस्तावको विरोधमा संसद भवन नजिकै ठूलो समूह भेला भई नेतन्याहूलाई विधेयक पास नगर्न दबाव दिएका थिए ।