
बेइजिङ, ८ साउन । उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सिसिटिभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेकोे देखिएको छ ।
उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुको ठूलो टुक्राहरू तोडेको फुटेजले देखाएको छ । “दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ,” सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । दुर्घटनाको गहन अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वाका अनुसार ३४ नम्बर को मिडिल स्कुलको जिम आइतबार दिउँसो ३ बजेतिर ढलेको थियो ।
स्थानीय पत्रिका हेइलोङजियाङ डेलीका अनुसार दुर्घटना हुँदा १९ जना जिममा थिए । चार जनालाई भग्नावशेषबाट बाहिर निकालिएको र अन्य चार जनाले दुर्घटनापछि भागेर ज्यान बचाउँन सफल भएका छन् । करिब १६० अग्निनियन्त्रक र ३९ वटा फायर ट्रकको खोजी तथा उद्धार कार्य सम्पन्न भएको सीसीटीभीले जनाएको छ । नाम नखुलाइएको एक स्रोतले सरकारी स्वामित्वको चोङकिङ न्युजलाई बताएअनुसार छानामा थुप्रिएका सामग्रीको बारेमा भत्किनुअघि नै चिन्ता व्यक्त गरिएको थियो ।
“व्यायामशाला २० वर्षभन्दा पहिले निर्माण गरिएको थियो र धेरै ठाउँ लामो समयदेखि जीर्ण अवस्थामा पुगेको थियो,” स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सले भनेको छ, “छतमा थुप्रिएका सबै सामानले केही न केही होला कि भनेर सबै चिन्तित थिए ।” गत महिना चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




