
काठमाडौं, ११ साउन । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए।
यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । त्यसैले सुन लुकाएको आशङ्कामा विभागले छापा मारेको हो ।
त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ । यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पनि पक्राउ गरेको महानिर्देशक ढुङ्गानाले जानकारी दिए। उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ ।
उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ ।