‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

-



     कृष्ण दबाडी    
     श्रावण १६ गते २०८० मा प्रकाशित


पाेखरा, १६ साउन । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिनन्। शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्छिन् ।

‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन। पोखरा आएसँगै उनमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगिन, उनले त्यसपछि आफ्नो खुसी थाम्न सकिनन्।

“प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्ने मनमा लागिरहेको थियो”, उनले भनिन्, “उडेर हावाको प्रेसरले माथि माथि जाँदा, दिशा परिर्वतन भएको अनुभव गर्न पाइयो । एकदमै रमाइलो लाग्यो ।” पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १० दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गरे।

साहसिक खेल प्याराग्लाइडिङ गर्न जो–कोही तत्कालै तयार हुँदैनन् । यसका लागि साहस चाहिन्छ, तर शारीरिकरूपमा फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए । दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो । प्याराइलाइडिङ गर्नेहरु एक–दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो ।

बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन्। उनी पनि प्याराग्लाइडिङ गरेपछि उत्साहित थिइन। उनले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पनासमेत नगरेकाे बताइन। उनले भनिन्, “आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, मनमा खुसीको सीमा नै छैन ।” चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन। तर आफूले पाउँछु कि पाउँदिन भन्ने थाहा थिएन । अघिल्लो दिनमात्र गर्न पाउने भन्ने उनले जानकारी पाएकी हुन ।

उनले भनिन्, “मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो । आकाशमा उड्ने भनेपछि कस्तो हुने, आकाशमा कस्तो हुन्छ होला भन्ने थियो । तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो ।” ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो । उनले नै यस कार्यको अग्रसरता लिइन र आफ्ना साथीहरूलाई अवसर प्रदान गरिन्।

सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन। उनले भनिन्, “यो समावेशी पर्यटन प्रवर्द्धन हो । यसबाट सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छैक्दन भन्ने सन्देश दिएको छ । जीवनमा उचाइमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहीनतामा सीमित हुन जरुरी छैन । त्यो भन्दा माथि उठ्न सक्छौँ, उड्न सक्छौँ ।”

उनको प्याराग्लाइडिङको अनुभवन पनि रोमाञ्चक छ । बादलभित्र हराउँदाको खुसी उनले शब्दमा व्यक्त गर्न सक्दिनन् । उनले भनिन्, “मेरो पाइलटले बादल छुहाउन लैजानुभयो । बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ । बादलभित्र हराउँदाको खुसीले मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो । जीवनमा सपना देख्न आँखा होइन, हिम्मत र आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपाङ्गता हुँदैन ।”

प्याराग्लाइडिङ पाइलट राम गौतमले दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको बताए। अन्य सामान्य नागरिकले आफैँले देखेर आनन्दित हुने खुसीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा उनीहरूमा समेत अन्य नागरिकसरह उत्साहित भएको बताए। उनले भने, “सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउनुहुन्छ । दृष्टिविहीनलाई हामीले तपाईँ तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौैँ, यसो भन्दा उहाँहरूसमेत उत्साहित हुनुहुन्छ ।”