
काठमाडौं, २१ साउन । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय सरकारको अधिकार सङ्कुचन नहुने गरी सङ्घीय शिक्षा ऐन र कर्मचारी ऐन परिमार्जनसहित पारित गर्न सङ्घीय सरकारको ध्यानार्कषण गराएको छ ।
महासङ्घको केन्द्रीय कार्यसमितिको चौथो बैठकले स्थानीय सरकार सञ्चालन र सरोकारका विषयमा विभिन्न १५ वटा निर्णय गर्दै पाँच बुँदे भक्तपुर घोषणा जारी गरेको हो । भक्तपुरको घ्याम्पेडाँडामा सम्पन्न बैठकमा महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संविधानले प्रदान गरेका तहगत सरकारका अधिकारमा सङ्कचुन एवं हस्तक्षेप नहुनेतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराइन ।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधयेक, २०८० लाई संविधानले तहगत सरकारलाई दिएको अधिकारलाई सङ्कुचन नहुने गरी परिमार्जनसहित पारित गर्न सङ्घीय संसद्का सांसदहरूलाई आग्रह गरिन । यस्तै सङ्घीय निजामती सेवा विधेयक पनि सरोकारवालासँग परामर्श गरी तत्काल अगाडि बढाउन महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासङ्घको घोषणापत्रमा सरकारको कार्यविस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन गर्ने निर्णयलाई महासङ्घले स्वागत गरेको छ । अध्यक्ष पाण्डेले कार्यविस्तृतीकरणको परिमार्जन कार्यलाई गम्भीर चासोका रूपमा लिएको भन्दै स्थानीय सरकारसँग पर्याप्त परामर्श गर्नसमेत सरकारको ध्यानआर्कषण गराएको बताइन।
गत आर्थिक वर्षमा सङ्घीय समानीकरण अनुदानमा विनियोजन रकमसमेत सबै निकासा हुन नसकेको भन्दै महासङ्घले वित्तीय हस्तान्तरणलाई रोक नलगाउन सरकारको ध्यानाकर्षणसँगै आग्रह गरेको छ । ग्रामीण क्षेत्रमा वन्यजन्तु (बाँदर/बँदेल/दुम्सीलगायत)बाट बाली–नालीको क्षतिका कारण नागरिक बसाइँ सर्न बाध्य हुने तथा कृषि पेसाबाटै पलायन हुने समस्याबारे सरकारको ध्यानार्कषण गराएको छ ।
गाउँपालिकाले वन्यजन्तु र मानव बस्तीबीचको द्वन्द्व नियन्त्रण एवं व्यवस्थापनसम्बन्धी बेग्लै सङ्घीय कानूनको आवश्यकता औँल्याएको छ । डेङ्गी, लम्पी स्किन, सर्पदंश र बाढीपहिरोजस्ता प्रकोपप्रति सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदै औषधोपचार, उद्धार, राहत तथा पुनःस्थापनाको उचित प्रबन्धका लागि स्थानीय सरकारलाई सहयोग गर्न सङ्घ तथा प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
तराई मधेस क्षेत्रमा यस वर्ष बर्सात नभई खेतीयोग्य जमिन बाँझो रहन गएकाले उक्त क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न, किसानलाई राहत उपलब्ध गराउन र सिँचाइको दिगो व्यवस्थापन गर्न साझेदारीका लागि दुई तहका सरकारको ध्यानार्कषण गराएको छ ।