
काठमाडाैं,२५ साउन । पछिल्लाे केही सातादेखि तराई क्षेत्र, काठमाडौं उपत्यका र अन्य प्रदेशमा आँखा राेगको संक्रमण फैलिन थालेको छ । मनसुन सुरु भएसँगै नेत्रश्लेष्म रोग र आँखाको फ्लुका बिरामीमा उल्लेख्य बृद्धि भएको हाे ।
आँखाको फ्लुकै कारण अहिले देशभरका अधिकांश बिधालयहरू बन्द छन। यसबाट बालबालिकाहरू बढि प्रभावित भएकाे तथ्याङ्कले देखाउछ । सरकारी तवरबाट समेत सचेतनाका कार्य भइरहेकाे सरकारी अधिकारीहरूले बताएका छन। उता आँखा बिशेषज्ञहरूले सबेलाइ सचेत रहन आग्रह गरिरहेका छन।
उच्च वायुमण्डलीय आर्द्रताले ब्याक्टेरिया र भाइरसहरूको प्रसार भइरहेकोले संक्रमणहरूमा तीव्र वृद्धि भएको बिशेषज्ञहरू बताउछन। आर्द्रता र खराब माैसमका कारणले आँखाको संक्रमण रोगका घटनाहरूमा राष्ट्रव्यापी जटीलता बढाएकाे नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताएका छन ।
पछिल्ला दिनहरूमा आँखाको रोगको संक्रमण देशभर फैलिएको छ । देशका अधिकांश अस्पतालमा आँखाको रोगका बिरामी बढ्दै गएका छन्, मिश्रले भने । आँखाको संक्रमणको गुनासो लिएर अस्पताल जानेहरुमध्ये औसतमा ५० प्रतिशत कन्जुक्टिभाइटिसबाट पीडित रहेको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रकाे भनाइ छ।
देशभरका आँखा अस्पतालको सोमबारसम्मको तथ्यांकलाई हेर्दा अस्पतालमा आउनेमध्ये ५० प्रतिशतमा कन्जक्टीभाइटिसको संक्रमण देखिएको मिश्रले बताए । आँखाको समस्या हुनबाट बच्न नागरिकहरु नै सचेत हुनुपर्ने, सरसफाइमा ध्यान दिनु पर्ने नत्र यसले थप जटिलता उत्पन्न हुने संघका निर्देशक डा मिश्रले बताएका छन।