फिर्केखोला महत्वपूर्ण पर्यटन गन्तव्य बन्छ : प्रमुख आचार्य

-



     सफल आवाज    
     भाद्र १ गते २०८० मा प्रकाशित


पोखरा, १ भदाै । पोखरा महानगरपालिकाले मेयर धनराज आचार्यले अतिक्रमित संरचना हटाएर फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको बताएका छन् ।

महानगरले शुरु गरेको फिर्केखोलाको सिमाङ्कन अवलोकनका क्रममा प्रमुख आचार्यले भने, “दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेनसहितको फुटट्रयाक बनाइने र यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।”

उनले फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण ताल समेत प्रदूषित भएकोमा चिन्ता व्यक्त गरे। पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा–१८ को अधेँरीकुना नजिक पुगेको आचार्यले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको छ ।

पोखरा–१७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन अब करिब दुई सय मिटर मात्र बाँकी छ । खोलाको नाप जाँचको स्थलगत अवलोकनमा पुग्नुभएका महानगरपालिकाका प्रमुख आचार्यले भने, “खोलाको नाप जाँचका क्रममा हालसम्म पाँचसय बढी सीमा स्तम्भहरू गाडिएका छन्, यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो, यसका शङ्का गर्नुपर्ने कुनै कारण छैन ।” उनका अनुसार खोलाको सिमाङ्कनले खोलामाथिको अतिक्रमण र दोहनलाई उदाङ्गो बनाइदिएको छ ।

फिर्केखोलामाथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने उहाँले जानकारी दिए। सिमाङ्कनको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म पाँच सयभन्दा बढी सीमास्तम्भ खोलाको दायाँबायाँ गाडिएका छन् । अब खोलाको दुई सय मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी छ ।

नाप जाँचका क्रममा खोलामाथि अतिक्रमण गरिएको, स्थायी संरचना निर्माण गरिएको र प्रदूषण गरिएको लगायतका अवस्थाहरू भेटिएको उनले बताए। खोलाको प्राकृतिक बहावको खोजी र अतिक्रमण विरुद्ध नागरिक अभियान्ताले सकारात्मक सहयोग गरिरहेको र फिर्केखोलाको सिमाङ्कन टोलीमा सर्वेक्षक, इञ्जिनियर र अमिनसहितको ४० जनाको टोली परिचालित रहेको पौडेलले जानकारी दिए।