पोखराको चरक मेमोरियल हस्पिटलमा पहिलोपटक मुटुको सफल शल्यक्रिया

-



     सफल आवाज    
     भाद्र १ गते २०८० मा प्रकाशित



पोखरा, १ भदौ । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलमा गण्डकी प्रदेशमै पहिलो पटक मुटुको शल्यक्रिया सफल भएको छ ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई र सूर्य बास्तोला नेतृत्वको टिमले पोखराका एक ४५ बर्षीय (नाम गाेप्य) पुरुषको एक साता अगाडि मुटुको सफल शल्यक्रिया गर्न सफल भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

डा. भट्टराईका अनुसार ती बिरामीका २ वटा नसा ब्लक भएका थिए । अप्रेशन पश्चात् अहिले ती बिरामीको मुटुले राम्रोसँग काम गरिरहेको उनले बताए । अप्रेशनका लागि ६ लाख रुपैयाँ लागेको र सम्पूर्ण खर्च अस्पतालले नै बेहोरेको हो ।

ओपन हार्ट सर्जरी पोखरामा गर्नु कोसेढुंगा भएको भन्दै डा.भट्टराईले पोखराका पश्चिमाञ्चल र मणिपाल लगायतका अन्य अस्पतालहरूले पनि सेवा सुरू गर्न चाहेमा सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले गण्डकी प्रदेशका मुटुरोगीले उपचारका लागि काठमाडौं धाउनु नपरोस् भन्ने उद्देश्यले सेवाको सुरुवात गरिएको र यसलाई निरन्तरता दिने बताए । हस्पिटलले ३ करोडको लागतमा मुटुरोगका लागि आवश्यक इक्विपमेन्ट खरिद गरेको पनि पोखरेलले बताएका थिए ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले १ लाख रुपैयाँ सहयोग पाउँछन् भन्ने मान्यताले बिरामीहरू काठमाडौं धाउने गरेको भन्दै सो सुविधा चरकमा पनि रहेको उनले बताए ।