
एटलान्टा, ८ भदौ । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भए।
जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ ।
यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन् । भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन् ।
कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उनी निक्कै रिसाएको देखिन्छन्। हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा उनले नीलो सूट, सेतो शर्ट र रातो टाई लगाएका छन् । उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ ।
सतहत्तर वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरे। यद्यपि उनीमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ ।