बाराही सेदी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल नियुक्त

-



     सफल आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित


काठमाडाै, ११ भदाै । पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच शेयर निस्काशन र बिक्री प्रबन्धककाे कार्य गर्ने सम्झाैता भएको छ । अब बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ मार्फत साधारण शेयर निष्काशन गर्दा शेयर निस्काशन र बिक्री प्रबन्धककाे काम एनएमबी क्यापिटलले नै गर्नछ ।

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।

जारी पूँजी १ अर्व १६ करोड रहेको उक्त कंपनीले जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ६० लाख बराबरको ११ लाख ६० हजार कित्ताको शेयर जारी गर्ने जनाएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरि प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, बैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको बताइएकाे छ।

होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइडमा पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको हाे । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन ।

विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही ग्रुपले बाराही सेदीको अलावा पोखराकै लेकसाईड होटल बाराही, काठमाण्डौंको ठमेलमा बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ । बाराही ग्रुपले होटल आबास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाईडमा द ब्यञ्जन रेष्टुरेन्ट र खपौदीमा द बीच रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेको छ ।

त्यस्तै पोखरामा आउने पर्यटकहरुलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भैरहेको बताइएकाे छ ।