राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले गर्याे ५ जलविद्युत आयोजनासँग सम्झाैता

-



     सफल आवाज    
     भाद्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ भदाै। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ५ वटा जलविद्युत कम्पनीसँग ग्रिड कनेक्सनकाे सम्झौता गरेको छ। ग्रिड कम्पनीले अपर सांगे हाइड्रोपावर लिमिटेड, यारु हाइड्रोपावर लिमिटेड, वाटर इनर्जी डेभलपमेन्ट प्रालि, बुढीगण्डकी हाइड्रोपावर र सनस्टार इनर्जी लिमिटेडसँग ग्रिड कनेक्सन सम्झौता गरेको हो। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा ग्रिड कनेक्सन सम्झौता भएकाे थियाे।

कम्पनीका प्रतिनिधि र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झाैता अनुसार यि कम्पनीहरूले ह्‍विलिङ चार्ज तिरेपछि कम्पनीका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन ग्रिड कम्पनीले निर्माण गरेकाे सबस्टेसन र प्रसारण लाइन प्रयोग हुनेछ।

कार्यक्रममा बाेल्दै ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्रसारण र वितरण प्रणालीलाई गुणस्तरीय बनाउनुपर्ने अहिलेकाे चुनौती रहेको बताए। ‘अब हामी यति हजार मेगावाट बिजुली उत्पादन गर्छौ भन्ने भन्दा पनि यी-यी आयोजनाबाट विद्युत् उत्पादन गर्छौ भन्नेछाै,’ मन्त्री बस्नेतले भने ।

उनले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने व्यवस्थासहितकाे विद्युत् विधेयक यही साता संसदमा टेबुल गर्ने समेत बताए। ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको नीति प्रसारण लाइनलाई पनि कमर्सियल मोडालिटीमा लैजाने रहेको बताएका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख ज्ञवालीले १० वटा जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि दरौदी प्रसारण लाइन प्रयोग हुने बताए। कम्पनीले निर्माण गरेको प्रणाली प्रयोग गर्दा निजी क्षेत्रले ह्‍विलिङ चार्ज तिर्ने भएकाले सरकारले थप आयोजना निर्माण गर्न स्रोतको अभाव नहुने बताए।

सम्झौता गर्ने कंपनी मध्ये सनस्टार इनर्जीकाे ४६ मेगावाटको  सुपर सेती जलविद्युत आयोजनाकाे बिजुली सेती कोरिडोर ४०० किलो भोल्ट प्रसारण लाइनमा जोडिनेछ। यो प्रसारण लाइन करिब १ सय ५६ किलोमिटर हुने छ। अहिले यो प्रसारण लाइनको लागत १८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेकाे छ।

वाटर इनर्जीले निर्माण गर्ने १६ मेगावाटको माछाखोला, यारोकाे ३०.५ मेगावाटको यारो खोला, बुढीगण्डकी हाइड्रोपावरकाे ४.६ मेगावाटको माछाखोला र अपर सांगेकाे २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना दरौंदी कोरिडोर (केराबारी-मर्स्याङ्दी) १३२ केभी प्रसारण लाइनमा जोडिनेछ।