माण्डु हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ भदाै । माण्डु हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले भदौ १० गतेदेखि प्रिमियममा बिक्रीमा ल्याएकाे सेयरमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरि बाँडफाँड गरिसकेपछि अहिले सर्वसाधारणका लागि सेयर खुलाएकाे हो।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशतले हुने २ लाख ७२ हजार ७३० कित्ता प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्रीमा ल्याएकाे थियाे ।

आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरेको सेयर पूरा बिक्री नभएपछि बाँकी रहेकाे ७९ हजार ३० कित्तामा अरु थपेर १३ लाख ६ हजार ३०६ कित्ता बिक्रीमा ल्याएकाे हो। यसमा २८ हजार ८५३ कित्ता कर्मचारीहरुका रहेकाे छ । ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । सर्वसाधारणले १२ लाख ५ हजार ३२० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

इच्छुक लगानीकर्ताले प्रतिकित्ता २०६ रुपैयाँका दरले घटीमा १० र बढीमा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेकाे छ । यसकाे लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । विद्युत उत्पादनकाे अवधि २६ वर्ष ३ महिना बाँकी छ।

सेयर भर्नका लागि लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।