सुन तस्करी प्रकरणमा नाम जोडिएका राहुल महरा प्रहरी नियन्त्रणमा

-



     सफल आवाज    
     भाद्र १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ भदाै । सुन तस्करी प्रकरणमा नाम मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरी नियन्त्रणमा परेका छन् । महरा सीआईबीमा स्वयमं उपस्थित भएका हुन् ।

अाफै सीआईबीमा उपस्थित भएकाे र सुन प्रकरणकाे अनुसन्धानमा प्रहरीलाइ सहजीकरण गर्ने भन्दै राहुलले फेसबुकमा लेखेका छन् – ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।

भेपमा लुकाएर ल्याएकाे सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकाे अनुसन्धानबाट खुलेपछि प्रहरी महराकाे निगरानीमा थियाे ।

सरकारी वकिल कार्यालयले भने महरा विरुद्ध अहिलेसम्म मुद्दा चलाएको थिएन । चिनियाँ ब्यापारी दावासँग पटक पटक सम्पर्क गरेका राहुल महरामाथि अनुसन्धान नभएको भन्दै जनस्तरबाट सरकारकाे विरोध भइरहेको थियो ।

सीआईबीले हालसम्म सुन प्रकरणमा २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।