मन्त्री किराँतीद्वारा ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ

-



     सफल आवाज    
     भाद्र १४ गते २०८० मा प्रकाशित


काठमाडौं, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गरेका छन्र। पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले निर्माण गरेको उक्त एप्सको शुभारम्भ गरेका हुन्।

एप्स सार्वजनिक कार्यक्रममा बोल्दै उनले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताए। मन्त्री किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताए। “पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न सकिँदैन, बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन सक्दैन”, उनले भने।

उनले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताए। मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने रहेको स्पष्ट पारे। पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए। उनले भूटान, बङ्गलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताए।

पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महङ्गा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उनको भनाइ थियो । टुरिष्ट बस एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसमा ओहोरदोहोर गर्ने स्वदेशी तथा विदेशी यात्रुले सहजै अनलाइनमार्फत टिकट काट्न सकुन् भन्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको बताए।

काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर जाने पर्यटक बसका यात्रुले मोबाइल एप्समार्फत टिकट काट्न पाउनेछन् । टिकट काट्नका लागि टिवानले खल्ती, आइएमई पे, प्रभु पेसँग सहकार्य गरेको छ । हाल काठमाडौँबाट दैनिक झण्डै एक सय पर्यटक बस देशका विभिन्न पर्यटकीय क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।